जब म १९७० तिर यहाँ अक्सफोर्डको बिधार्थी थिएँ बिश्वको भबिष्य त्यती आशालाग्दो थिएन/ जनसंख्या वृद्धि रोक्नै नसकिने खालको थियो/ भोकमरी हटाउनै नसकिने थियो/ वातावरणमा भएको रसायनको कारणले फैलिएको क्यान्सरले हाम्रो जीवन छोट्याउदै थियो/ जंगलहरूमा अम्ल वर्षा भैरहेको थियो/ हरेक वर्ष थप एक दुई माईलले मरुभूमिकरण भईरहेको थियो| तेलको भण्डार रित्तिदै थियो/ र, शीतकालीन परमाणुले हामीलाई सिध्याउन सक्थ्यो/ तर त्यस्तो केही भएन/ ( हाँसो ) आश्चर्यजनक रुपमा, यदि तपाईंहरू मेरै जीवन अबधिमा वास्तवमा के के भयो त भनेर हेर्नु हुन्छ भने, यही ग्रहको औषत मान्छेको औषत प्रति व्यक्ति आय साँचो अर्थमा, स्फीतिलाई समायोजन गर्दा, तीन गुणा भयो/ मेरै जीवन अबधिमा आयु ३० प्रतिशतले वृद्धि भयो/ बाल मृत्यु दर दुई तिहाईले कम भयो/ प्रति व्यक्ति खाद्य उत्पादनमा एक तिहाईले वृद्धि भयो/ र यो सँगसँगै जनसँख्या दोब्बर पुगेको छ/
हामीले कसरी यो सब प्राप्त गर्यौं - तपाईं यसलाई राम्रो कुरा मान्नु हुन्छ या हुन्न - हामीले कसरी यो सब प्राप्त गर्यौं त ? हामी कसरी त्यस्तो प्रजाति बन्यौं जसको संख्या जति बढ्यो उति बढि समृद्ध हुन्छ ? यो ग्राफमा बिन्दुको आकारले जनसँख्याको आकार जनाउँछ/ र ग्राफको तहले प्रति व्यक्ति कुल ग्राहस्थ उत्पादन जनाउँछ/ मलाई लाग्छ यो सवालको जवाफको लागि कसरी मानव जातिले आफ्ना दिमागलाई एक ठाउँमा ल्याउन सके र आफ्ना विचारहरूलाई संयोजन र पुनर्संयोजन, सम्पर्क र, साँच्चै भन्नु पर्दा, संसर्ग गर्न सक्षम बनाउन सके भन्ने कुरा बुझ्नु पर्ने हुन्छ/ अर्को शब्दमा, विचारहरू कसरी संसर्ग गर्छन भन्ने बुझ्नु पर्ने हुन्छ/
कल्पना गर्नुहोस हामी कसरी यस्ता किसिमका वस्तुहरू बनाउने अबस्थाबाट यस्ता किसिमका वस्तुहरू बनाउने अबस्थामा आईपुग्यौं/ यी दुवै वास्तविक वस्तुहरू हुन/ एउटा पाँच लाख वर्ष भन्दा अगाडि ढुंगे युगमा होमो इरेक्टस प्रजातिका मानिसहरूले बनाएको जस्तै हाते औजार हो/ अर्को स्वाभाविक रुपमा कम्प्युटरको माउस हो/ यी दुवै पत्याउनै नसकिने गरी ठ्याक्कै एउटै आकार र उस्तै प्रकारका छन्/ मैले कुन चाहीँ ठुलो छ भनेर पत्ता लगाउन खोजेँ तर त्यो झन्डै असम्भव छ/ त्यो किन भने यी दुवै मान्छेको हातमा ठ्याक्क अटाउने गरी बनाईएका छन्/ यी दुवै प्रविधि हुन/ अन्त्यमा, तिनीहरुको समानता त्यती रोचक भने छैन/ त्यसले ती दुवै केवल मान्छेको हातमा अटाउने गरी बनाईएका थिए भन्ने मात्र बताउँछ/ यहि भिन्नताहरुलेनै मेरो रुचि जगाउँछन्/ किनभने बायाँ पट्टिको चाहीँ एउटै डिजाइनमा बनाईएको थियो झन्डै १० लाख वर्ष सम्म -- १५ लाख वर्ष अघि देखि ५ लाख वर्ष अघि सम्म/ होमो इरेक्टसहरुले यस्तै सामग्री ३०,००० पुस्ता सम्म बनाए/ पक्कै पनि केही परिवर्तनहरू भने थिए, तर ती दिनहरुमा सामग्रीहरु मानिसको रुप-रेखा भन्दा ढिलो परिवर्तन भए/ त्यहाँ कुनै प्रगति थिएन, कुनै आविस्कार थिएन/ यो एउटा असाधारण घटना हो, तर सत्य हो/ जब की दायाँको वस्तु पाँचै वर्षमा काम नलाग्ने हुन्छ/ र अर्को पनि भिन्नता छ, त्यो हो - बायाँको वस्तु एउटै पदार्थबाट बनेको छ/ दायाँको वस्तु विभिन्न पदार्थहरुको मिश्रणबाट बनेको छ, सिलिकन र धातु र प्लाष्टिक इत्यादिबाट/ त्यो भन्दा पनि बढि, यो फरक फरक आइडियाहरुको मिश्रण हो, प्लाष्टिकको आइडिया, लेजरको आइडिया, ट्रान्जिस्टरहरुको आइडिया| ती सबै आइडियाहरुको संयोजन गरिएको छ यो प्रविधिमा/
र यो त्यो संयोजन हो, त्यो एकमुष्ठ प्रविधि हो, जसले म भित्र उत्सुकता जागृत गराउँछ/ किनभने मलाई लाग्छ यो संसारमा के भईरहेको छ भनेर बुझ्नको लागि यो नै एउटा गोप्य तथ्य हो/ मेरो शरीर पनि विचारहरुको थुप्रो हो, छालाका कोषहरुको विचार, गिदीका कोषहरुको विचार, कलेजोका कोषहरुको विचार/ तिनीहरु सबै सँगै आएका छन्/ क्रमिक विकासले कसरि संचिति, संयोजन जस्ता कुराहरू गर्छ? खयर, यसले यौन प्रजननको प्रयोग गर्छ/ अलैंगिक प्रजातिहरूमा, यदि तपाईं फरक फरक प्राणीहरुमा दुई भिन्न खालका रुपान्तरण पाउनु भयो भने, मानौं एउटा हरियो र अर्को रातो, एउटा अर्को भन्दा राम्रो हुनु पर्छ| एउटा अस्तित्वमा रहनको लागि अर्को लोप हुनु पर्छ| तर लैंगिक प्रजातिको मामिलामा भने विभिन्न वंशबाट दुवै किसिमका रुपान्तरणहरू ग्रहण गर्न सम्भव छ| त्यसैले संसर्गले के गर्छ भने हरेक सन्तानलाई सिंगो प्रजातिको आनुवंशिक आविस्कारहरूलाई ग्रहण गर्न सक्षम बनाउँछ| यो आफ्नो वंशमा मात्र सिमित छैन|
त्यो के प्रकृया हो जसले सांस्कृतिक विकासक्रममा संसर्गले जैविक विकासक्रममा जस्तै असर पारिरहेको छ? र मलाई लाग्छ यसको जवाफ विनिमय (सट्टापट्टा) हो, एउटा वस्तु अर्कोसँग विनिमय (सट्टापट्टा) गर्ने बानी हो| यो मान्छे मात्रको विशेषता हो| अरु कुनै प्राणीहरु त्यसो गर्दैनन| तपाईं प्रयोगशालामा तिनीहरूलाई अलिअलि विनिमय गर्न सिकाउन सक्नु हुन्छ| अनि वास्तवमै त्यसको प्रभाव अरु प्राणीहरूमा देख्न सकिन्छ| तर तिनीहरू एउटा वस्तुको विनिमय अर्को वस्तुसँग कहिल्यै गर्न सक्दैनन| आडम् स्मिथले भने झैँ कसैले पनि आजसम्म ''एउटा कुकुरले अर्को कुकुरसँग हड्डी साटेको देखेको छैन|'' (हाँसो) तपाईंहरू विनिमय बिनाको संस्कार अपनाउन सक्नु हुन्छ| सेक्स बिनाको संस्कार अपनाउन सक्नु हुन्छ| चिम्पान्जी, हिंश्रक व्हेल जस्ता प्राणीहरूको पनि संस्कार छ| तिनीहरू एकअर्कालाई परम्परा सिकाउँछन जुन आमाबाबुबाट सन्तानमा सारिन्छ| चिम्पन्जीहरूले एकअर्कालाई ढुंगाले कसरी ओखर फोर्ने भने जस्ता कुरा सिकाउँछन | तर भिन्नता के भने ती संस्कारहरू कहिल्यै विस्तार हुँदैनन, कहिल्यै वृद्धि हुँदैनन, कहिल्यै एकत्रित हुँदैनन र कहिल्यै संयोजन योग्य हुँदैनन| कारण के भने त्यहाँ संसर्ग हुँदैन त्यहाँ विचारहरूको आदानप्रदान हुंदैन| चिम्पन्जीहरुको बेग्लाबेग्लै बगालका बेग्लाबेग्लै संस्कारहरू हुन्छन| तिनीहरू बीच विचारको आदानप्रदान हुँदैन|
र किन विनिमयले जीवन स्तरलाई उकास्छ? खयर, त्यसको उत्तर १८१७ मा डेविड रिकार्डोले दिएका थिए| र यो उनको त्यो कथाको ढुंगे युग संस्करण हो, तथापि उनले यो देशहरू बीचको ब्यापारको सन्दर्भमा भनेका थिए| आडमले चार घन्टामा एउटा भाला बनाउँछ र तीन घन्टामा एउटा बन्चरो बनाउँछ| अजले एक घन्टामै एउटा भाला र दुई घन्टामै एउटा बन्चरो बनाउँछ| त्यसैले दुवै काममा आडम भन्दा अज सिपालु छ| उसलाई आडमको खाँचो छैन| उसले आफ्नो लागि आफै हतियार बनाउन सक्छ| तर यसो सोंच्नु भयो भने, त्यस्तो हुँदैन, किनकि यदि अजले दुईटा भाला र आडमले दुईटा बन्चरा बनाएर सट्टापट्टा गरे भने, तिनीहरू प्रत्येकले एक-एक घण्टा समय बचाउन सक्छन| र उनीहरू जति बढि सट्टापट्टा गर्छन, त्यती धेरै समय बचत पनि गर्छन| किनकि उनीहरू जति बढि यसो गर्छन, आडम बन्चरो बनाउने काममा झन सिपालु हुँदै जान्छ, र अज भाला बनाउने काममा झन सिपालु हुँदै जान्छ| त्यसपछि त्यस ब्याबसायबाट हुने आम्दानी बढ्दै जान्छ| यो विनिमयका सुन्दर पक्षहरू मध्ये एक हो, यसले वास्तवमा बिशिष्टता हासिल गर्नको लागि गति उत्पन्न गर्छ, जसले अझ बढि विनिमय गर्ने हौसला प्रदान गर्छ/ आडम र अज दुवैले एक घण्टा समय बचत गरे| आबश्यकता परिपूर्ति गर्ने क्रममा समयको बचत गर्नु समृद्ध हुदै जानु हो|
एकचोटी आफैलाई प्रश्न गर्नुहोस कि तपाईंलाई रातमा एक घण्टा किताब पढ्नको लागि चाहिने उज्यालोको जोहो गर्न कतिबेर काम गर्नु पर्थ्यो होला| यदि तपाईंलाई बिल्कुलै शुन्यबाट शुरु गर्नु पर्यो भने, पहिले त गाउँमा जानु पर्यो| एउटा भेडो खोजेर काट्नु पर्यो| अनि त्यसको बोसो निकाल्नु पर्यो| बोसोलाई पगाल्नु पर्यो| अनि त्यसको बत्ति बनाउनु पर्यो| यस्तै थुप्रै झन्झटहरू गर्नु पर्यो| यसले तपाईंको कति समय लेला? अलि धेरै नै लिन्छ| साँच्चै एक घण्टा पढ्ने लाइट जोहो गर्न तपाईंलाई कति बेर काम गर्नु पर्ला यदि तपाईं आजभोलीको ब्रिटेनमा औषत ज्याला पाउनु हुन्छ भने? झन्डै आधा सेकेन्ड मात्र| १९५० तिर, त्यती उज्यालोको जोहो गर्न औषत ज्याला हुनेले आठ सेकेन्ड काम गर्नु पर्थ्यो| र तपाईंले १९५० को तुलनामा साढे सात सेकेन्ड बराबरको समृद्धि प्राप्त गर्नु भयो| किनकि त्यो साढे सात सेकेन्डमा तपाईं अरु केही गर्न सक्नुहुन्छ| अथवा अरु कुनै वस्तु वा सेवा प्राप्त गर्नको लागि खर्च गर्न सक्नुहुन्छ| १८८० तिर त अझ त्यही एक घण्टा पढ्न पुग्ने बत्तिको जोहो गर्न औषत ज्यालामा १५ मिनेट काम गर्नु पर्थ्यो| त्यो भन्दा पनि अगाडि १८०० तिर त, एक घण्टा बाल्न पुग्ने क्यान्डलको लागि छ घण्टा काम गर्नु पर्थ्यो| अर्को शब्दमा भन्नु पर्दा, १८८० तिर औषत आम्दानि भएको मान्छेले क्यान्डल किन्न सक्दैन थियो|
एक चोटी फेरि यो ढुंगाको औजार र माउसलाई हेरेर आफैलाई सोध्नुहोस: यी वस्तुहरू कसले कस्तो लागि बनायो होला? त्यो ढुंगाको औजार बनाउनेले आफ्नै कामको लागि बनाएको थियो| यो त्यतिबेलाको आत्मनिर्भरता थियो| तर आज त्यसलाई अनुत्पादक कार्य मान्छौं| तर दायाँको वस्तु कोही अरुले नै मेरो निम्ति बनाईदिएको थियो| कति जना अरु मानिसहरु मिलेर बनाए होलान? दश? सय? हजार? मेरो विचारमा लाखौँ मिलेर बनाए होलान| किनभने तेल उत्खनन गर्ने मान्छेको लागि बनाईएको एक कप कफीमा त्यो कफीको बिरुवा उमार्ने मान्छेलाई सम्म समाबेश गर्नु पर्ने हुन्छ| ती सबैले हाम्रो लागि एउटा माउस तयार गर्न काम गरिरहे| यसप्रकार हाम्रो समाजले काम गरिरहेको हुन्छ| र यो नै त्यस्तो बिशेषता हो जुन हामीले मानव जातिको रुपमा पाएका छौँ|
पहिले पहिले कोही धनी हुनुको अर्थ ऊसँग नोकरचाकरहरू छन् भन्ने हुन्थ्यो| त्यसरी नै मान्छे धनी कहलिन्थे; अरुलाई काम दिएर| लुइ चौधौंका थुप्रै नोकरचाकरहरू थिए| तिनीहरूले उसको यो गाईजात्रे कपडा बनाईदिए| (हाँसो) अनि उसको कपाल पनि त्यस्तै गाईजात्रे बनाईदिए| उसको लागि ४९८ जना कामदार मिलेर रातिको भोजन तयार गर्थे| तर अहिले लुइ चौधौंको दरवार घुम्न आउने र उसका तस्बिर हेर्ने एक आधुनिक पर्यटकका लागि पनि ४९८ जनाले रात्रिभोज तयार गर्छन| तिनीहरू पेरिसभरि बिस्ट्रो, क्याफे अनि रेस्टुरेन्टमा छन्| र तिनीहरू एक घण्टा भित्र एकदम राम्रो खानेकुरा सर्व गर्न तयार छन् जसको गुणस्तर लुइको खानाको भन्दा सायद धेरै राम्रो छ| र त्यसरी नै हामी अहिलेको जमानामा काम गरिरहेका छौँ, हामीहरू सबै एक-अर्काका लागि काम गरिरहेका छौँ| हामी कुनै पनि कार्यमा विशिष्टता हासिल गर्न र त्यसको आदानप्रदान गरेर एक अर्काको जीवन स्तर माथि उठाउन सक्षम छौं|
तपाईं अरु जनावरले पनि एक अर्काको लागि काम गरेको पाउनु हुन्छ| जस्तै कमिलाहरू; कामदारहरू तिनका रानीहरूको लागि काम गर्छन भने रानीहरू आफ्ना कामदारहरूको लागि| तर त्यहाँ ठुलै भिन्नता छ, त्यो के भने उनीहरुको यस्तो कार्य एउटा समूहमा मात्र सिमित हुन्छ| एउटा समूहले अर्को समूहको लागि काम गर्ने चलन हुँदैन| कारण के भने किनकि त्यहाँ प्रजननको लागि श्रम विभाजन हुन्छ| भन्नुको अर्थ, तिनीहरू प्रजननको सम्बन्धमा बिशिस्टता हासिल गर्छन| रानीले यो सबै काम गर्छ| तर हाम्रो प्रजातिमा, हामी त्यसो गर्न चाहन्नौं| प्रजनन त्यसो चिज हो जुन हामी आफ्नो लागि आफै गर्न चाहन्छौं| (हाँसो) बेलायतमै पनि, हामी प्रजनन रानीबाट गराउदैनौं|
त्यसो भए यो बानीको सुरु कहिले देखि भयो त? र यो कहिले देखि यस्तो हुँदै गैरहेको छ त? र त्यसको मतलब के हुन्छ? त्यसो त, मलाई लाग्छ, यसको सबैभन्दा पुरानो संस्करण सायद श्रमको लैंगिक विभाजन हो| तर त्यसको लागि मसँग कुनै प्रमाण छैन| यस्तो लाग्छ कि हामीले गरेको पहिलो काम पुरुषले महिलाको लागि र महिलाले पुरुषको लागि थियो| हन्टर-ग्यादररहरूको आजका समाजहरुमा, आहारा बटुल्ने आधारमा श्रमको विभाजन हुन्छ शिकार गर्ने पुरुष र गीठा-भ्याकुर खोज्ने महिलाहरु बीच| यो त्यती सजिलो भने छैन| तर त्यहाँ पुरुष र महिलाका बीच बिशेष भूमिकाहरूमा भिन्नता छ| र त्यो प्रणालीको राम्रो पक्ष भनेको यसले दुवैथरीलाई फाइदा पुर्याउँछ| हाद्जाहरुको मामिलामा- महिलाले तरुल खनेर पुरुषसँग मासुसित साट्ने कुरामा- उनलाई थाहा हुन्छ कि प्रोटिन प्राप्त गर्नको लागि केवल उनले केही बढि तरुल खन्नु पर्छ र मासुसँग साट्नु पर्छ| र त्यो निकै थकाईलाग्दो शिकार खेल्न गएर बदेल मार्नु पर्दैन| अनि पुरुषलाई पनि तरुल प्राप्त गर्नको लागि आफै खन्न जानु पर्दैन भन्ने थाहा हुन्छ| उसले मात्र बदेल मार्दा त्यसको केही भाग तरुलसँग साट्न पर्याप्त छ भन्ने निश्चित गरे पुग्छ| यसरी कामको लैंगिक विभाजन गरेर पुरुष र महिलाले जीवनस्तर उकास्छ्न |
यो प्रकृया कहिले सुरु भयो त? हामीलाई थाहा छैन, तर सम्भवतः नियाण्डरथलहरुले त्यसो गरेनन| तिनीहरू एकदमै सहयोगी प्रजाति थिए| तिनीहरू एकदमै बुद्धिमान थिए| तिनीहरुको दिमाग औषतमा, अन्त्य सम्ममा, यो हलमा हुने तपाईं हाम्रो भन्दा ठूलो थियो| तिनीहरू कल्पनाशील थिए| तिनीहरू लाशलाई गाड्दथे| सायद तिनीहरूको भाषा पनि थियो, किनकि तिनीहरूको हाम्रो जस्तै FOXP2 जीन थियो, जुन कुरा यहाँ अक्सफोर्डमा पत्ता लगाईएको थियो| यस्तो लाग्छ कि तिनीहरूसँग भाषिक सीपहरू थिए| तिनीहरू प्रतिभाशाली थिए| मैले नियाण्डरथलहरुको अपमान गर्न खोजेको होइन| तर कुनै श्रमको लैंगिक विभाजनको प्रमाण भने छैन| स्त्रीहरूले खानेकुरा बटुल्ने गरेको कुनै प्रमाण छैन| यस्तो लाग्छ कि स्त्रीहरूले पुरुषहरूलाई शिकार खेल्न सघाउथे| र अर्को त्यस्तै प्रमाण नभएको कुरा हो समुह बीच हुने लेनदेन| किनकि नियाण्डरथलको अबशेषको रुपमा भेटिएका वस्तुहरू, तिनीहरूले बनाएका औजारहरू, आफ्नै वरपर पाईने पदार्थबाट बनेका छन्| उदाहरणको लागि, ककेशसमा एउटा स्थान छ जहाँ त्यस्ता नियाण्डरथलका औजारहरू भेटिन्छन| ती औजारहरू त्यहीँ वरपर पाईने एक किसिमको ढुंगाबाट बनाईएका छन्| त्यही ठाउँमा आधुनिक मानवका अबशेषहरू पनि छन् झन्डै उहि समय, ३०,००० बर्ष पहिलेका| र ती मध्ये केही त तिनै ढुंगाबाट बनेका छन्, तर धेरैजसो धेरै टाढाबाट ल्याईएका अब्सिडियन (लाभा चिसिएर बनेको शीशा जस्तो पत्थर)बाट बनाईका छन्| अनि जब मान्छेहरू यसरी सामानहरू यताउता लानेल्याउने गर्न थाले, त्यो नै तिनीहरूले समूह समूह बीच आदान प्रदान गर्ने गरेको प्रमाण थियो|
ब्यापार खेतीपाती भन्दा १० गुणा पहिले शुरु भएको थियो| तर मान्छेहरू त्यो भुलेर व्यापारलाई आधुनिक कुरा हो भन्ठान्छन| समुदाय बीचको आदान प्रदान लाखौं बर्ष देखि हुँदै आईरहेको छ| र त्यसको प्रमाण त्यस्तै ८० देखि १२०,००० बर्ष पहिले अफ्रिकामा भेटिन्छ, जव तपाईं अब्सिडियन र ज्यास्पर अनि त्यस्तै अरु चिजहरू ईथियोपियामा धेरै टाढा सम्म पुगेको पाउनु हुन्छ| अल्जेरियाको मेडिटेरेनियनबाट - अक्सफोर्डको एउटा टिमले पत्ता लगाए अनुसार - १२५ माईल टाढा सम्म पुगेका समुद्री सिपीहरूलाई हेर्नुहोस/ र त्यो मान्छेहरूले समूह समूह बीच आदान-प्रदान सुरु गरेको प्रमाण हो| र त्यसले विशेषज्ञता तर्फ अग्रसर गराउँछ|
लामो दूरीको यात्राको मतलब बसाई सराई मात्र भन्दा पनि व्यापार हो भन्ने कसरी बुझ्ने त? आधुनिक हन्टर ग्यादरर जस्ता आदिबासीहरूलाई हेर्नुस्, जसले ढुंगाको औजारको निम्ति माउन्ट अइजा भन्ने ठाउँमा उत्खनन गरे, जुन जग्गा काल्काडुन जनजातिको स्वामित्वमा थियो| तिनीहरुले त्यसलाई आफ्ना छिमेकीसँग स्टिंग्रे बार्ब जस्ता सामानहरूसँग व्यापार गरे| परिणामस्वरुप ती ढुंगे औजारहरू अष्ट्रेलियाको धेरैजसो भागमा फैलिए| यसरी सामग्रीहरू टाढा टाढा सम्म फैलिनु भनेको ब्यापारको संकेत हो, बसाईसराईको होइन|
मान्छेहरूलाई विनिमय गर्नबाट रोक्ने हो भने, विनिमय गरेर विशेषज्ञता हासिल गर्ने क्षमतामा रोक लगाउने हो भने के हुन्छ होला? त्यसको जवाफ हुन्छ, त्यसले प्रविधिको विकासलाई सुस्त मात्र गर्दैन वास्तबमा यसको अधोगति नै हुन्छ| त्यसको एउटा उदाहरण हो ताज्मेनिया| समुद्री सतह बढेर १०,००० बर्ष अघि ताज्मेनिया एउटा टापुमा परिणत भयो, त्यहाँका बासिन्दाहरूले मुख्यभूमिका मानिसहरूको तुलनामा सुस्त गतिमा प्रगति भयो होइन वास्तवमा अधोगति भएको महशुस गरे| उनीहरूले आफ्नो सामग्रीहरू (हड्डीका) बनाउने, माछा मार्ने उपकरण र कपडा बनाउने सीपहरू त्यागिदिए किनकि जम्माजम्मी ४००० जतिको जनसंख्या सामान्यतया उक्त प्रविधिलाई यथावत राख्न आबश्यक पर्ने बिशेष सीपहरूलाई कायम राख्न पर्याप्त थिएन| त्यो भनेको यो हलमा अहिले भएका सबै मानिसलाई लगेर एउटा मरुभूमि टापुमा छाडिदिए जस्तै हो| अहिले हाम्रो गोजीमा भएका कति वस्तुहरू हामीले १०,०० बर्ष पछि बनाउन सक्थ्यौं होला? उस्तै टापु, उस्तै मान्छेहरू , तर टिएरा डेल फुएगोमा त्यस्तो भएन| कारण के भने टिएरा डेल फुएगो दक्षिण अमेरिकाबाट एउटा निकै साघुरो गल्छीले मात्र अलग्गिएको छ| र १०,००० बर्ष सम्म त्यहाँ गल्छीको वारिपारि व्यापारिक सम्पर्क थियो| तर ताज्मेनियनहरू नितान्त सम्पर्क बिहिन थिए|
एकचोटी फेरि यो फोटो हेर्नुहोस र आफैलाई सोध्नुहोस, कसले कसको लागि बनायो भनेर भन्दा पनि कसले यी वस्तुहरू बनाउन जान्यो भनेर| ढुंगे औजारको हकमा, जसले बनायो उसले कसरी बनाउने भन्ने पनि जान्यो| तर कम्प्युटरको माउस कसरी बनाउने भन्ने कसले जानेको छ? कसैले जानेको छैन, साचो अर्थमा कसैले पनि जानेको छैन| यो संसारमा कम्प्युटर माउस बनाउन जानेको कोही पनि छैन| म साच्चै गम्भीर भएर भन्दै छु| कम्प्युटर माउस कम्पनीको अध्यक्षले माउस बनाउन जान्दैन| उसले त कम्पनी कसरी चलाउने मात्र जान्दछ| पुर्जाहरू जोड्ने व्यक्तिले जान्दैन किनभने उस्लाई कसरी तेलको कुवा उत्खनन गर्ने र तेल निकालेर प्लाष्टिक बनाउने भन्ने थाहा छैन| हामी सबैलाई अलिअलि थाहा छ तर कसैलाई पनि बिस्तृत जानकारी छैन|
मैले वास्तवमा १९५० तिरका अर्थशास्त्री लियोनार्ड रीडको "म, पेन्सिल" भन्ने प्रख्यात निबन्धबाट उदधृत गरेको हुँ जसमा उनले कसरी पेन्सिल बनाईयो भन्ने बारे लेखे र कसरी कसैले पनि कसरी पेन्सिल बनाउने भन्ने पनि जान्दैनन्, किनकि एसेम्बल गर्ने मान्छेलाई कसरी ग्राफाइट निकाल्ने भन्ने थाहा हुदैन| र तिनीहरूले कसरी रुख ढालेर त्यस्तो चिज बनाउने भन्ने जान्दैनन| विनिमय र विशेषज्ञताको माध्यमबाट हामीले मानव समाजमा के गरेका छौं भने, हामी आफैले बुझ्न सम्म नसक्ने काम गर्ने क्षमताको विकास गरेका छौँ| यो भाषा जस्तो होइन| भाषाको माध्यमले हामी एकअर्काले बुझ्न सक्ने आइडियाको आदान प्रदान गर्छौं| तर प्रविधिको माध्यमबाट हामी वास्तबमा हाम्रो क्षमता भन्दा बाहिरको काम गर्न सक्छौं|
हामी मान्छेको दिमागको क्षमता भन्दा बाहिर एउटा असाधारण स्तरमा पुगिसकेका छौँ| अनि प्रसंगबस, कस्को भन्दा कस्को आई क्यू बढि छ भन्ने बादबिबादमा मलाई रुचि नलाग्ने यो एउटा कारण हो| यो पूर्ण रूपले असान्दर्भिक कुरा हो| समाजको लागि के कुरा सान्दर्भिक हो भने मान्छेहरू कत्तिको राम्ररी आफ्ना विचारहरू संचार गरिरहेका छन्, र कत्तिको राम्ररी एक अर्कालाई सहयोग गरिरहेका छन्, एउटा व्यक्ति कत्तिको चलाख छ भन्ने होइन| त्यसकारण हामीले सामुहिक दिमाग भन्ने कुरा सिर्जना गरेका छौँ| हामी त त्यो संजालको एउटा शाखा मात्र हौँ| हामी त त्यो दिमागको सानो स्नायु हौँ| यो विचारहरूको लेनदेन हो, विचारहरूको सम्पर्क र संसर्ग हो, जसले अलिअलि गरेर प्रविधिको बिकासमा मद्दत पुर्याएको छ| तैपनि, नराम्रा घटनाहरू घट्छन| र भविष्यमा, यसरी अगाडि बढ्दै जादा, साच्चै आतंक मच्चाउने कुराहरु महशुष गर्ने छौं| युद्ध हुने छ; नैराश्यता हुने छ; प्राकृतिक प्रकोप हुने छन्| डरलाग्दा घटनाहरू यो सताब्दीमा घट्ने छन्, म पुरा बिश्वस्त छु| तर म के कुरामा पनि बिश्वस्त छु भने, यस्तै सम्बन्धहरुको कारणले मानिसहरुले विचारहरूको सम्पर्क र संसर्ग गर्ने क्षमता निर्माण गरिदिएका छन् जुन पहिले कहिल्यै भएको थिएन| म निश्चित छु कि प्रविधि अझ सशक्त हुने छ, र जीवन स्तर पनि सशक्त हुने छ| किनकि बादलको बीचबाट, भिडको बीचबाट, शुन्यबाट विकास हुँदै गएको एउटा संसार हामीले सिर्जना गरेका छौँ, जहाँ सम्भ्रान्त मात्र होइन, हरेक व्यक्ति आफ्नो विचार ग्रहण गर्न र तिनीहरुलाई सम्पर्क र संसर्ग गराउन सक्षम छ, निश्चय पनि हामीहरूले आविस्कारलाई गति प्रदान गरेका छौँ/
You can share this video by copying this HTML to your clipboard and pasting into your blog or web page. This video will play with subtitles.
You either have JavaScript turned off or have an old version of the Adobe Flash Player. To view this rating widget you
need to get the latest Flash player.
If your browser allows only "trusted sites" to execute Javascript, you should add the "googleapis.com" domain to your whitelist to allow our Flash detection to work properly.
Got an idea, question, or debate inspired by this talk? Start a TED Conversation.
टेड ग्लोबल २०१० मा लेखक म्याट रिडलीले परापूर्व कालदेखि कसरी नयाँ विचारहरूको निर्माणका लागि विचारहरू बीचको सम्पर्क र संसर्ग मानव प्रगतिको इन्जिन हुँदै आएको छ भन्ने बारे चर्चा गर्नु हुन्छ/ "एउटा व्यक्ति कति चलाख छ भने कुरा महत्वपूर्ण होइन" -उहाँ भन्नुहुन्छ; " के कुराले वास्तवमै महत्व राख्छ भने - एकत्रित रुपमा हाम्रो दिमाग कति तीक्ष्ण छ|"
Matt Ridley argues that, through history, the engine of human progress and prosperity has been, and is, "ideas having sex with each other." Full bio »
Translated into Nepali by Raaz Shrestha
Reviewed by Deepak Basyal
Comments? Please email the translators above.
19:01 Posted: Jan 2007
Views 631,890 | Comments 84
17:52 Posted: Apr 2008
Views 433,972 | Comments 83
19:11 Posted: Jan 2007
Views 517,303 | Comments 106
Just follow the guidelines outlined under our Creative Commons license.
This comment will be attributed to . Not ? Sign Out.